Research paradigm१: यदि तपाई बाहिरी बिश्वमा भएका कुरालाई नै आफ्नो सत्य मान्नु हुन्छ र त्यसभन्दा अरु सत्य केही छैन भन्ने बिश्वास गर्नु हुन्छ भने तपाईंको paradigm भनेको positivism भयो किनभने positivist हरुले संसार लाई हेर्ने दृष्टिकोण र तपाईंको दृष्टिकोण समान भयो/ प्राकृतिक बिज्ञान संग सम्बन्धित अनुसन्धान यस कोटीमा पर्दछन/ खासगरी quantitative research त्यो पनि ठ्याक्कै hypothesis मा भएका variables नापेर यति नै हो यो भन्दा फरक हुन सक्दैन भन्ने खालको अनुसन्धान/
Research paradigm२: यदि तपाई बाहिरी बिश्वको सत्य आत्मसात त गर्नु हुन्छ तर ज्ञान भन्ने कुरा value free हुन सक्दैन भन्ने बिश्वास गर्नु हुन्छ भने तपाईंको Research paradigm भनेको post-positivism हुने भयो / खासगरी सामाजिक बिज्ञानमा अनुसन्धान गर्ने संख्यात्मक अनुसन्धान यो कोटिका अनुसन्धान हुन्/ अर्को रुपमा यसलाई critical realism पनि भनिन्छ जसले ज्ञानको निर्माण समाजबाटै हुने भएता पनि संरचनात्मक रूपमा बैज्ञानिक सिद्धान्तलाई पनि नकार्दैन/
Research paradigm३: यदि तपाई सत्य भन्ने कुरा समाजमा रहने मानिसहरूले निर्माण गर्ने हो र यो प्रत्येक मानिसको सोचाईमा भर पर्छ भन्नुहुन्छ भने तपाईको Research paradigm भनेको Interpretivism भयो जसले constructivism मा बिश्वास गर्छ/ यो Research paradigm भनेको positivism को ठ्याक्कै अर्को ध्रूब हो/ अर्थात् प्राय: गुणात्मक अनुसन्धान गर्नेहरु यो paradigm अंगाल्दछन् /
Research paradigm४: एउटा अर्को बिश्वास छ जसले positivism/postpositivism र interpretivism जस्तो आ-आफ्नो डम्फु लिएर मात्र अनुसन्धान गर्नु पर्छ भन्ने छैन भन्ने कुरा अगाडि सार्दछ र त्यो नै व्यवहारिक हो भन्दछ/ तपाईंको research questions ले माग गरेको उत्तरको आधारमा नै Research paradigm तय हुन्छ / कुनै research question ले positivism खोज्ला त कुनैले interpretivism / त्यस्ता थुप्रै अनुसन्धान भएका छन र त्यसरी निकै महत्वपूर्ण अध्ययन गर्न सकिन्छ/ यो अवस्थामा तपाईंको Research paradigm भनेको pragmatism हुन पुग्छ/ खासगरी mix-method research वा संख्यात्मक भए पनि गुणात्मक सूचना समेत सङ्कलन गरेर अनुसन्धानलाई बल पुरयाउने काम भएको छ भने वा गुणात्मक अनुसन्धान भए पनि संख्यात्मक तथ्यांक समेतको संकलनबाट अनुसन्धान गरिएको छ भने त्यस्ता अनुसन्धानहरुमा यो दृष्टिकोण मौजुद रहन्छ/
(बाँकी अर्को पाठमा....)
गएका १४ पाठमा हामीले अनुसन्धान प्रस्तावना तयार पर्ने सम्बन्धि धेरै मसला छलफल गर्यौं/ आशा छ यसबाट उच्च शिक्षा तहमा अध्ययन गर्ने बिद्यार्थीहरु (स्नातकोत्तर, एम फिल र पिएचडी) लाई केही राहत महशुस भएको हुनुपर्छ/ आज देखि हामी अनुसन्धान बिधि अर्थात तपाइको खास बिधि (मेथड अफ रिसर्च) का बारे कुराकानी गर्नेछौं/ पहिला गुणात्मक अनुसन्धानका बिधि बारे चर्चा गरौँ/
१. इथ्नोग्राफी (Ethnography):
समाजमा हुने गरेका काम कारबाही, अन्तरक्रिया, त्यहाँ बस्ने मान्छेको बुझाई, कुनै खास समूह वा संस्थाको संस्कृति जस्ता कुराको आधारमा तयार पारिने अनुसन्धान यस अन्तर्गत पर्दछन/ यसको मूल जरा भनेको मानाव शास्त्रनै हो/ मानवीय व्यवहार उसको संस्कृति संग गाँसिएको हुन्छ र उसका बिचार, धारणा, काम कारवाही, अरु प्रति हेर्ने दृष्टिकोण सबै त्यसैले निर्देशित गरेको हुन्छ/ के त्यस्ता सांस्कृतिक, सामाजिक, परिवेश रहेछन त? जसले गर्दा ती मानिसहरुको बिचार वा भावना वा बुझाइ फरक फरक बन्ने रहेछ? वा उनीहरुको खास संस्कृति र विचारका मूल आधार के रहेछन त? जस्ता प्रश्न को जवाफ नै Ethnography हो/
यसको लागि अवलोकन (तपाइँ आफै एउटा अंस भएर गर्ने participant observation), अन्तर्वार्ता, छलफल, एबम् उनीहरु अवस्थित समाजका धरोहर अध्ययन (cultural artifact study) जस्ता काम गरेर बिस्तृत रुपमा सूचना संकलन गर्ने र जस्ताको तस्तै बिवरण विश्लेषण सहित अरु माज पुर्याउने काम Ethnography विधिका ठोस प्रकृया हुन्/ यसमा बाहिर बाट कस्तो देखिन्छ भन्दा पनि तपाईं आफैं त्यसको अंस भएर भित्रबाट नियाल्दाकस्तो रहेछ भन्ने अनुसन्धान गरिन्छ/ त्यसैले यस्तो अनुसन्धान गर्ने मानिसहरु लामो समय (प्रकृति हेरी कम्तिमा ६ महिना देखि माथि) उनीहरुले अध्ययन गर्न चाहेको समूह संग आबद्ध हुन्छन र आफु समेत अनुसन्धानको साधन भएर काम गर्छन/
यति गहन अनुसन्धान भएकोले तपाइंले कुनै खास समूह, समुदाय, व्यक्तिको झुण्ड जस्ता बिशेष प्रकारको परिवेश (phenomenon) छान्नु पर्ने हुन्छ/
यस्तो अनुसन्धान गर्दा धेरै sample हुनुपर्छ भन्ने छैन/ तपाईं एउटा मात्रै समूहको बिस्तृत अध्ययन गरेर थेसिस लेख्न सक्नु हुन्छ/ यो सामाजिक अनुसन्धान संग सम्बन्धित भएकोले तपाईं समाजका बिकृति, विसंगति, बनावट, त्यहाँका मान्छेको रहन सहन, चालचलन, बिचार जस्ता कुरालाई आफ्नो अनुसन्धानको मूख्य बिषय बनाउन सक्नु हुन्छ/
उदाहरणको लागि 'Perception and Practices of Higher Education among Women:An Ethnographic Study of PhD Holders" भन्ने बिषय तपाइंको रोजाइ हो भने तपाइंले PhD गरेका केही (3-4) महिला छनौट गर्नु हुन्छ, उनीहरु संग बसेर उच्च शिक्षा हासिल गर्दा उनीहरुले गरेका अनुभव, चुनौती, समस्या जस्ता कुरामा छलफल गर्नु हुन्छ, प्रत्येक को छुट्टा छुट्टै अन्तर्वार्ता गर्नु हुन्छ, उनीहरु संगै घुलमिल गरेर पढाइ संग सम्बन्धित महिलाका भित्री समस्याका कुरा खोतल्न सक्नु हुन्छ, उनीहरुको पढाइको निरन्तरता कसरी रह्यो, कहाँ कहाँ संघर्ष गर्नु पर्यो, किन त्यसो संघर्ष भोग्न पर्यो ? घर परिवार र समाजले हेर्ने दृष्टिकोण कस्तो रह्यो, आज पढाइ पुरा गर्दा कस्तो अनुभव हुँदैछ आदि आदि गुणात्मक सूचनाका पोको बनाएर विश्लेषण गर्न सक्नु हुन्छ/ उनीहरु हुर्केको परिवेश अध्यन गर्नु हुन्छ, उनीहरुको सामाजिक र सांस्कृतिक आधार बुझ्नु हुन्छ, उनीहरुका परिवार र उनीहरु बस्ने समाजका अरु मान्छे संग समेत यस सम्बन्धमा कुरा खोतल्नु हुन्छ अनि एउटा सिङ्गै थेसिस लेख्नु हुन्छ/
Lesson 16: Phenomenology::
गएका पाठ बाट हामी गुणात्मक अनुसन्धानका प्रकारहरुमा छलफल गर्दैछौं/ त्यसै क्रममा आज phenomenology के हो? यो अनुसन्धानमा कति महत्वपूर्ण छ? र यसलाई कसरी प्रयोग गर्न सकिन्छ? भन्ने बारे छोटो टिप्पणी यहाँ प्रस्तुत छ /
दर्शन र मनोबिज्ञानका पक्षसंग सम्बन्धित phenomenology ले तपाई बाँच्नु भएको परिबेशमा तपाईंकै जीवन्त अनुभवको खोजी गर्दछ/ त्यस्तो परिवेश खास खास परिस्थितिमा बिशेष हुन्छन र तिनलाई उजागर गर्न अरु बिधि भन्दा phenomenology बढी उपयुक्त हुन्छ/ Phenomenology बास्तवमा phenomenon बाटै बनाइएको हो/ उदाहरणको लागि एउटा क्यान्सर पीडितले आफ्नो जीवन कसरी बाँचिरहेको छ त? भन्ने अध्ययन गर्नु पर्यो भने कुनचाहिं बिधि उपयुक्त होला? बाहिरबाट उसलाई देख्नेले भनेका कुराको आधार वा अरु क्यान्सर पीडितका आधारमा गरिने सामान्यीकरण वा जो पिडित छ उसैको पूर्ण कहानीमा आधारित अनुसन्धान/
यहाँ उल्लेख गरिएका कुनै पनि बिधि प्रयोग गरेर यो अनुसन्धान गर्न सकिन्छ तर सबैभन्दा भरपर्दो र अर्थपूर्ण नतिजा चाहिं Phenomenology बाट निकाल्न सकिन्छ/ सम्बन्धित क्यान्सर पिडित कसरी बाँचेको छ, उसका जीवन्त अनुभवहरु के छन्, क्यान्सर भएको छ भनेर थाहा पाउँदा पाउँदै र जीवन क्षणिक छ भन्ने बुझ्दाबुझ्दै पनि जिउनुको बास्तविक अर्थ के होला, कसरी जीवन यापन हुँदैछ, जीवन प्रतिको उसको दृष्टिकोण कस्तो छ, जस्ता सरल लाग्ने तर गहिरो मनोबैज्ञानिक र दार्शनिक आधारमा उभिएर खोतलीने सूचनाहरु phenomenology बिधि मानिन्छन/
यहाँ तपाईंको phenomenon भनेको ‘क्यान्सर रोग’ भयो र त्यो रोग संग लडेर जिएका मान्छेहरु तपाईंका सूचनादाता अर्थात् sample भए र उनीहरुको जीवन्त अनुभव (lived experience) तपाईंको सूचना अर्थात् data भयो/ तपाईंको मूल अनुसन्धान प्रश्न भनेको What is it like to live a life with cancer? हुनेभयो/ एउटा क्यान्सर पीडितले जींवन प्रति हेर्ने दृष्टिकोण र उसले लगाउने जीवनको अर्थ तपाईंको अनुसन्धानका मूल नतिजा हुने भए/ तपाईं त्यस्ता केही व्यक्तिहरुसंग प्रत्यक्ष सम्पर्कमा रहनु हुन्छ, उनिहरुसंग कुराकानी र अन्तर्वार्ता गर्नुहुन्छ, उनिहरुका बिचारलाई आफ्नो नोटबुकमा कैद गर्नुहुन्छ, सहमती लिएर त्यस्ता अनुभवलाई रेकर्ड गर्नुहुन्छ, उनिहरुका अनुहारमा देखिएका पीडाहरुलाई नियाल्नु हुन्छ र त्यसलाई आफ्नो सूचनाको एउटा पाटो ठान्नुहुन्छ, उनिहरुका परिवेश अवलोकन गर्नु हुन्छ, आफूले तयार पारेका सूचनाहरु उनिहरुसंग फेरी छलफल गर्नुहुन्छ र उनीहरुले गरेकै अनुभव जस्ताको तस्तै उनीहरुकै भाषामा तोड मरोड नगरीकनै सामाजिक सिद्धान्त, मनोबिज्ञान र दर्शनका आधारमा विश्लेषण गर्नुहुन्छ र एउटा थेसिस तयार पार्नुहुन्छ/
यसमा प्रत्यक्ष अनुभवका चार पाटा चासो को बिषय हुन सक्छन् Lived space (spatiality), Lived body (corporeality), Lived time (temporality) र Lived human relations (relationality) /
यस्ता थुप्रै अनुसन्धानका Topic तपाईं छान्न सक्नुहुन्छ जस्तो Experience of a life-long temporary teacher in Nepal, Experience of students who always stood first in all class examinations, Experiencing a life of being a working mother, Experience of a Parliamentarian, Living a life in Elderly Home etc. etc.
यी अनुसन्धानहरु अरु बिधिबाट गर्न नसकिने होइनन तर lived experience पहिचान गर्ने उपयुक्त विधिका रूपमा Phenomenology अग्रस्थानमा देखापर्छ/
Lesson 17: Case study:
बिगत केही पाठ देखि हामी गुणात्मक अनुसन्धानका प्रकारका बारेमा अध्ययन गर्दैछौं/ त्यसै क्रममा आज Case study लाई संक्षिप्तमा नियाल्नेछौँ / कुनै पनि परिवेशको बिस्तृत अध्ययन गरी जीवन्त प्रस्तुती गर्नु Case study मानिन्छ / हुनत गुणात्मक Case study मा अरु गुणात्मक अनुसन्धान जस्तै बिषयगत बुझाई र धारणाको महत्व त हुन्छनै तर पनि केही बस्तुगत बिचार पनि यस भित्र अट्न सक्दछ/ तर त्यो बस्तुगत बिचार pluralism को सन्दर्भमा यहाँ लागू हुन्छ न की संख्यात्मक अनुसन्धान मा जस्तो relativism को रूपमा / Case study अनुसन्धान गर्नेहरुले खासगरी आफ्नो paradigm को लागि constructivism छान्ने गर्दछन ता की जुन परिवेशको Case अध्ययन गर्न खोजेको हो त्यसै परिवेश संग साक्षात्कार गर्ने मानिसहरु संगको कुराकानीको आधारमा खोजिएको अर्थ निकाल्न सकियोस / अर्थात् तपाईंको सूचनादाताहरुनै तपाईं को ज्ञानका निर्माणकर्ता हुन् /
यो विधिमा तपाईं आफ्नो अनुसन्धान-सहभागीहरुको अनुभवलाई उनीहरुको कथा व्यथाका रूपमा चित्रण गर्नु हुन्छ र तपाईंका सहभागीहरुले उक्त परिबेशमा भोगेका कठिनाईहरु, उनीहरुले गरेका उपलब्धिहरु, धारणाहरु, बिचारहरु समेटेर एउटा जीवन्त तस्बीर तयार पार्नु हुन्छ ता की तपाईंका पाठकहरुले आफैं त्यहाँ पुगे जस्तो गरी Case प्रष्ट बुझ्नेछन / Case study मा सूचना संकलन बिभिन्न पक्षबाट गरिनु पर्छ/ जुन परिवेश को Case study हो त्यो परिवेशको परिचय बिना तपाईंको अध्ययन अधुरो रहन्छ / यसकारण परिवेशलाई चिनाउने कुनै पनि तथ्यांक वा सुचनाहरु तपाइंले संकलन गरेको हुनु पर्दछ /
Case study मूलत: बहु-सूचना पद्धतिमा आधारित हुन्छ/ उदाहरणको लागि यदि तपाईंको बिषय “Integration of ICT in Higher Education: A Case of ODL in Nepal” छ भने उच्च शिक्षा जहाँ सूचना प्रविधिको प्रयोग गरी अन लाइन दूर शिक्षा प्रदान गरिन्छ त्यो तपाईंको phenomenon अर्थात् परिवेश भयो / तपाइंले त्यस्ता विश्वविद्यालय वा कलेजको Case study गर्नु हुन्छ / नेपालमा रहेका त्यस्ता संस्थाको जीवन्त बर्णन तपाईंको लक्ष हुन्छ/ आफ्नो व्याख्यालाई जीवन्त बनाउन तपाईं ती संस्थामा ICT प्रयोग गरी ODL संचालनमा र विद्या आर्जनमा अग्रगामी भूमिका खेल्ने शिक्षक, प्रशासक, नीतिनिर्माता, प्रबिधिज्ञ सूचनाको एउटा पाटो मान्नुहुन्छ (सेवा प्रदाय ) भने बिद्यार्थी र अभिभावक (लक्षित बर्ग) अर्को पाटो मान्नुहुन्छ /
पहिलो पाटोको अनुभव संस्थापरक हुन्छ जसमा बर्तमान स्थिति, कमि कमजोरी र भविष्यको योजना समाबेश हुन्छ / लक्षित समूहको पाटोमा उनीहरुले अनुभव गरेका राम्रा र कठीन कथाहरु, उनीहरुले पाएका फाइदा र बेफाइदाहरु, उनिहरुले चाहेका र पाएका परिबेशहरु समावेश गरिन्छन / मूलत: Case study ले किन र कसरी को बिस्तृत विवरण माग्दछ / यसो गर्दा तपाइंले interview, participant observation, focus group study जस्ता बिधि उपयोगमा ल्याउनु हुन्छ र एउटाबाट पाएको सूचनालाइ अर्को संग टाँस्दै ब्याख्या गर्नु हुन्छ / यो बहु-बिधि Case study को लागि धेरै आवस्यक यसकारणले मानिन्छ की तपाइले Case को बिस्तृत अध्ययन गरेको होस् र एउटा सूचनामा मात्रै भर नपरेको होस् /
तर यतिले मात्र पनि तपाईंको data पुग्दैन / तपाईंलाइ आफ्नो Case study पूरा गर्न अरु secondary information पनि जरूरी हुन्छ / जस्तो संस्थाको इतिहास, सूचना प्रबिधि प्रयोगको फेहरिस्त र बिकास, अनलाइन संचालन भएका क्षेत्र, तीनको व्यवस्थापन देखि लिएर ICT र ODL प्रयोगमा ती संस्थाहरुको प्रत्येक विवरण (लगानी, प्रक्रिया र उपलब्धि) अनि त्यसबाट प्रदान गरिएका शिक्षाका सबै पाटाहरुको सूक्ष्म सूचना तपाईं को Case study को थुंगा हुन् जसलाई उनेर तपाईं आफ्नो थेसिस लेख्नुहुन्छ/
छानिएका संस्थाहरु एकै खाले हुन् र तीनले उच्च शिक्षामा एकीकृत गरेको सूचना प्रणाली र अनलाइन प्रक्रीयामा खासै भिन्नता छैन भने तपाईं धेरै संस्थाको अध्ययन गरेर पनि एउटा Case study गर्नुहुन्छ तर संस्थाका ICT र ODL का पक्षहरु एक अर्कामा तात्विक रुपमानै फरक छन् भने तपाईं एउटा थेसिस भित्रै Multiple cases को अध्ययन ल्याउनु हुन्छ /